News चाइना पब्लिक र हेटौडा एफए क्वाटरफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । चाइना पब्लिक युथ क्लब र हेटौडा फुटबल एकेडेमी (ए) जारी दोस्रो विजय युथ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पिप्ले क्याम्पा रंगशालामा भएको प्रिक्वाटरफाइनलतर्फ चाइना पब्लिकले चौकिटोल युथ क्लबलाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा चाइना पब्लिकले नतिजा ५–४ ले आफ्नो पक्षमा पारेको हो । खेलमा चाइना पब्लिकका गोलरक्षक असरफ शेख म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा हेटौडा फुटबल एकेढेमी (ए) ले आयोजक विजय युथ क्लब (बी) लाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हरायो । हेटौडा एफएको जितमा दिवस श्रेष्ठले दुई गोल गरे भने सन्जिव अर्याल, मनिष पौडेल र उत्तम जिम्बाले १–१ गोल गरे । खेलमा हेटौडा एफएका सन्जिव अर्याल म्यान अफ द म्याच घोषित भए ।

विजयी युथ क्लब, हेटौडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही असार १५ गतेका दिन हुनेछ ।

Post Comments