News लेबनानसँग भुटान निराश
गोलनेपाल

काठमाडौं । जारी १४औं साफ च्याम्पियनसिपको समूह बी तर्फ आइतबार लेबनानले लगातार दोस्रो जित हात पार्दा यस संस्करणमा प्रशंसनीय प्रदर्शन गरिरहेको भुटानले लगातार दोस्रो हार बेहोरेको छ । बैंगलोर स्थित श्री कान्तिरभा स्टेडियममा भएको खेलमा लेबनानले भुटानमाथि ४–१ को प्रभावशाली जित हात पार्यो ।

खेलको ११औं मिनटमा भुटानी गोलरक्षकले नियन्त्रणमा लिन नसकेको बललाई मोहमद सदेकले सदुपयोग गर्दै लेबनानका लागि पहिलो गोल गरेका थिए । २४औं मिनटमा अली हजले त्यो अग्रता दोब्बर पारे भने ३५औं मिनटमा खलिल बडेरले लेबनानका लागि तेस्रो गोल थपे । ४३औं मिनटमा महदी जेनले चौथो गोल गर्दै लेबनानको निश्चित जित पहिलो हाफ मै तय गरेका थिए ।

उता भुटानका लागि भने चेन्चो ग्याल्जेनले खेलको ८०औं मिनटमा एक मात्र सान्त्वना गोल फर्काए । लेबनानी डिफेन्डरको गल्तीको फाईदा उठाउँदा चेन्चोले पाएको बललाई सही रुपमा सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए । तर, भुटानलाई खेलमा फर्काउन भने सकेनन् । समग्रमा १८५औं स्थानमा रहेको भुटानले ९९औं स्थानको लेबनान विरुद्ध दोस्रो हाफमा थप दर्शनीय प्रदर्शन गर्न भने सफल रह्यो ।

यद्यपि यो लगातार दोस्रो हारले भुटानको साफ च्याम्पियनसिपको यात्रा भने समाप्त भएको छ । २ खेलबाट ६ अंक जोडेको लेबनान शिर्ष स्थानमा छ । ३–३ अंक जोडेका बंगलादेश र माल्दिभ्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने अंकविहीन भुटान पुछारमा छ ।

समूह चरणको अन्तिम खेलमा बुधबार लेबनानले माल्दिभ्सको सामना गर्नेछ भने भुटानले बंगलादेशसँग भिड्नेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूह ए बाट आयोजक भारत र कुवेत यसअघि नै अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।

 

Post Comments