News जलथल एफसी ढडुवा कपको सेमिफाइनलमा
रमेश समदर्शी
जलथल एफसी झापाको हल्दिबारी ३ मा आयोजित प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कचनकवलको बगान युथ क्लबलाई ३-२ गोलअन्तरले पराजित गर्दै जलथलले अन्तिम चारमा स्थान बनाएको हो । ३-० गोलले पछि परेको अवस्थामा बगान युथले अन्तिम ३ मिनेटमा २ गोल गरेर कमब्याक गर्ने प्रयास गर्यो । तर, हार भने टार्न सकेन ।

जलथलले पहिलो हाफमै २-० गोलको अग्रता लिएको थियो । पहिलो हाफको २८औँ मिनेटमा खमिर गिल्सन कन्दङ्वाले पहिलो गोल गरेका थिए भने उनैले ३१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् ।

दोस्रो हाफको १०औँ मिनेटमा आशिष चापागाईंले थप गोल गर्दै ३-० गोलको फराकिलो अन्तर निकाले । तर, खेलको अन्त्यतिर नियमित गोलरक्षक समिर लिम्बूलाई परिवर्तन गर्दै समिर परियार मैदान प्रवेश गरेसँगै बगान युथका खेलाडी हाबी भएका थिए ।

खेलको निर्धारित समय सकिन केही सेकेण्ड बाँकी रहँदा बगानका निरज कार्कीले गोल गर्दै टोलीलाई सान्त्वना दिलाएका थिए । यस्तै, इन्जुरी समय सकिन केही सेकेण्ड बाँकी रहँदा जलथलका गोलरक्षक परियारको गल्तीले बगानले पेनाल्टी पाउँदा मिलन राईले गोल गरे पनि खेलमा भने फर्कन सकेन ।

खेलको म्यान अफ दी म्याच व्यक्तिगत २ गोल गरेका जलथलका खमिर गिल्सन बने । ढडुवा एफसीले आयोजना गरेको प्रतियोगितामा सोमबार विशालपुर एफसी भद्रपुरले एनसीएफसी सैनिकसँग प्रतिस्पर्धा गर्नेछ ।
Post Comments