News गैंडाकोट चितवन च्याम्पियनसिपको सेमिफाइनलमा
गोलनेपाल

चितवन । रोमाञ्चक जितका साथ गैंडाकोट फुटबल क्लब यहाँ जारी छैठौं चितवन च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ गैंडाकोटले हर्दी युवा समाजलाई ४–३ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

जुनियर प्रहरी अधिकृत शिक्षालयको खेलमैदानमा भएको खेलको ३९औं मिनटमा विज्ञान चौधरीको गोलबाट हर्दीले खेलमा अग्रता बनाएको थियो । तर ४२औं मिनट मै जय गुरुङले गैंडाकोटका लागि बराबरी गोल फर्काएका थिए । ४५औं मिनटमा फोफनाले गैंडाकोटको त्यो अग्रता दोब्बर पारे । ५४औं मिनटमा मेसुकेले गैंडाकोटको त्यो अग्रता ३–१ को स्थितिमा ल्याए ।

तर हर्दीले पनि खेलमा पूनःरागमन गर्यो । ५६औं मिनटमा अभिषेक चौधरीले दोस्रो गोल फर्काउँदा ७२औं मिनटमा विज्ञान चौधरीले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा हर्दीका लागि तेस्रो गोल फर्काउँदै खेललाई ३–३ को स्थितिमा ल्याएका थिए । यद्यपि खेलको अन्तिमतिर इन्जुरी समयमा फोफनाले पेनाल्टीबाट व्यक्तिगत दोस्रो तथा गैंडाकोटका लागि चौथो गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

खेलमा हर्दीका विज्ञान चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत असार १२ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक एभरेष्ट क्लब र बिवाइसी (जु एफसी) बीच हुने आयोजकले जानकारी दियो ।

एभरेष्ट क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार १६ गतेका दिन हुनेछ ।

Post Comments