News नेपालको सुखद समापन
गोलनेपाल

काठमाडौं । साफ च्याम्पियनसिपको १४औं सस्ंकरणमा समूह चरणबाटै बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार पाकिस्तानलाई हराउँदै प्रतियोगितामा सुखद समापन गरेको छ ।

बैंगलोर स्थित श्री कान्तिरभा स्टेडियममा भएको समूह ए तर्फको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानमाथि १–० को जित निकाल्यो । खेलको ८०औं मिनटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका आशिष चौधरीले गरेको एक मात्र गोल निर्णायक बन्यो । नेपालका लागि आशिषको यो डेब्यु गोल समेत थियो ।

खेलमा नेपालले अन्य गोलका अवसरहरु पनि पाएको थियो । तर त्यसलाई सदुपयोग गर्न सकेन । एरिक बिष्ट र देवेन्द्र तामाङको फ्रिकिक प्रहार बारमा लाग्नु दुर्भाग्यपुर्ण रह्यो । मनिष डाँगीले वान भर्सेस वानको अवस्थामा गोल गर्न चुके । बक्सभित्रबाट गरेको उनले गरेको प्रहार पाकिस्तानी गोलरक्षकले मुश्किलले जोगाएका थिए ।

पहिलो हाफमा बिमल घर्ती मगरले केही अवसरहरुलाई सदुपयोग गर्न सकेनन् । समग्रमा नेपालको खेल केही हदसम्म सन्तोषजनक रह्यो । पहिलो हाफमा तुलनात्मक रुपमा केही फितलो प्रदर्शन गरेको नेपालले अन्तिम समयमा गोलको खाता खोल्दै प्रतियोगितामा जितका साथ सुखद समापन गर्न भने सफल भयो ।

यो जितपछि ३ खेलबाट ३ अंक जोडेको नेपालले समूह ए को तेस्रो स्थानमा रहेर १४औं साफ च्याम्पियनसिपको समापन गरेको छ । उता लगातार तेस्रो हार बेहोरेको पाकिस्तान अंकविहीन रुपमा पुछारमा रहेर प्रतियोगिता समापन गर्न बाध्य बन्यो ।

त्यस्तै समूह ए बाट आयोजक भारत र कुवेत यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । र यी दुई टोली मंगलबार बेलुका नै आमने सामने हुँदैछन् । साथै भारत र कुवेतबीचको खेलको नतिजाले समूह ए को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

Post Comments