News पदमपोखरी विजय युथ गोल्डकपको फाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । पदमपोखरी युनाइटेड क्लब यहाँ जारी दोस्रो विजय युथ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा पदमपोखरीले हेटौडा फुटबल एकेडेमी (ए) लाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा पदमपोखरीका लागि दुवै गोल दिपेश आले मगरले गरे । उता पराजित हेटौडा एफएका लागि सुदिप श्रेष्ठले एक मात्र गोल फर्काए । खेलमा निर्णायक दुई गोल गरेका पदमपोखरीका दिपेश आले मगर म्यान अफ द म्याच चुनिए ।

त्यस्तै बुधबार नै आयोजक विजय युथ क्लब र चाइना पब्लिक युथ क्लबबीचको दोस्रो सेमिफाइनल खेल समय अभावका कारण मध्यान्तरबाट स्थगित भएको छ । खेलमा विजय युथले १–० को अग्रता कायम राखेको बेला रात परेपछि खराब प्रकाश र समय अभावका कारण खेल स्थगित गर्नुपरेको आयोजकले जनाएको छ । साथै बाँकी खेल बिहीबार बिहान ८ बजेदेखि शुरु हुने पनि आयोजकले जानकारी दियो ।

विजय युथ क्लब, हेटौडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही असार १५ गतेका दिन हुनेछ ।

Post Comments