News शान्तिनगर र आयोजक जुट बिकासको विजयी शुरुवात
गोलनेपाल

इटहरी । शुक्रबारदेखि शुरु यु–१३ जुनियर नकआउट फुटबल प्रतियोगितामा शान्तिनगर फुटबल क्लब, इटहरी र आयोजक जुट बिकास फुटबल एकेडेमीले विजयी शुरुवात गरेका छन् । इटहरी स्थित डिभिएम स्कुलको खेलमैदानमा भएको उद्घाटन खेलमा शान्तिनगरले नेपाल पुलिस स्कुल, धरानलाई टाईब्रेकरमा हरायो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । शान्तिनगरका लागि १७औं मिनटमा रुपेश कार्कीले गोल गरेका थिए भने नेपाल पुलिस स्कुलका लागि २०औं मिनटमा जेनीश थापाले गोल फर्काएका थिए ।

टाईब्रेकरमा भने शान्तिनगरले नेपाल पुलिस स्कुलमाथि ४–२ ले जित निकाल्यो । खेलमा शान्तीनगरका आदर्श केसी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ सय र ट्रफी हात पारे । यो जितसँगै शान्तिनगर प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

त्यस्तै दोस्रो खेलमा आयोजक जुट बिकास फुटबल एकेडेमीले डिभिएम स्कुललाई २–० ले हरायो । जुट बिकासको जितमा म्यान अफ द म्याच समेत घोषित तामुहाङ राईले दुवै गोल गरे ।

प्रतियोगिता अन्तरगत असार २३ गते शनिबारको पहिलो खेल स्काई फुटबल एकेडेमी र जनपथ एकेडेमीबीच हुनेछ भने दोस्रो खेल डिएफसी र न्यु स्टार क्लबबीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन इटहरी उपमहानगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष जितेन्द्र थापा लगायतका अतिथीहरुले गरेका थिए ।

जुट बिकास फुटबल एकेडेमी, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले १२ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २७ गतेका दिन हुनेछ ।

Post Comments