News स्काई, डिएफसी र लर्ड बुद्ध क्वाटरफाइनलमा
गोलनेपाल

इटहरी । स्काई फुटबल एकेडेमी, नडाहा, डिएफसी, इटहरी र लर्ढ बुद्ध स्कुल, झुम्का यहाँ जारी यु–१३ जुनियर नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

डिभिएम स्कुलको खेलमैदानमा भएको पहिलो खेलमा स्काईले जनपथ एकेडेमी, बिराटनगरलाई शून्यका विरुद्ध १ गोलले हरायो । खेलमा स्काईका लागि सेमीहाङ लिम्बुले गोल गरे । निर्णायक गोलकर्ता लिम्बु खेलको म्यान अफ द म्याच पनि चुनिए ।

चौथो प्रिक्वाटरफाइनलतर्फ डिएफसीले न्यु स्टार क्लब, भरौललाई २–० ले हरायो । डिएफसीको जितमा पृथ्वी भुजेल र देव सरदारले गोल गरे । खेलको म्यान अफ द म्याच भने देव सरदार घोषित भए ।

त्यस्तै दिनको अन्तिम तथा पाँचौं प्रिक्वाटरफाइनलमा लर्ड बुद्धले पंचायन एफसीमाथि ३–० को जित निकाल्यो । लर्ड बुद्धको जितमा हिकमत कार्की, सिद्धार्थ चौधरी र रिदम गहतराजले गोल गरे । खेलमा म्यान अफ द म्याच भने पराजित पंचायनका अनिल बस्नेत चुनिए ।

प्रतियोगिता अन्तरगत असार २४ गते आइतबराको पहिलो खेलमा संकल्प इटहरी र डिएफसी इटहरी भिड्ने छन् भने दोस्रो खेलमा कोशी सेन्ट जेम्स, इटहरी र इटहरी फुटबल क्लब भिड्ने छन् ।

जुट बिकास फुटबल एकेडेमी, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले १२ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २७ गतेका दिन हुनेछ ।

Post Comments