News ठुलो बगैचा, फ्रेण्डशिप, आयोजक (बी), युथ क्लब र म्याग्देको जित
सुरज राना मगर

भन्सार । प्रतिष्ठित १६औं भानु कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा ठुलो बगैचा युवा क्लब, फ्रेण्डशिप युवा क्लब, आयोजक भन्सार युवा परिवार (बी), युथ क्लब र म्याग्दे क्लबले जित हात पारेका छन् ।

भानु रंगशालामा भएको पहिलो खेलमा ठुलो बगैचाले छपेली साँस्कृतिक युवा क्लबलाई टाईब्रेकरमा हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । टाईब्रेकरमा भने ठुलो बगैचाले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्यो ।

दोस्रो खेलमा फ्रेण्डशीपले अन्नपुर्ण युवा क्लबलाई ५–० को फराकिलो अन्तरले हरायो । तेस्रो खेलमा आयोजकको (बी) टिमले पिपुल्स युथ क्लबलाई २–१ ले हराउँदै दोस्रो चरणमा प्रवेश गर्ने सफल भयो ।

त्यसैगरी चौथो खेलमा युथ क्लबले खत्रीटार युवा क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो भने पाँचौ खेलमा म्याग्देले चाम्बास युवा क्लबलाई टाईब्रेकरमा ३–० ले हराएको खेल संयोजक सन्दिप श्रेष्ठले जानकारी दिए । प्रतियोगिता अन्तरगत असार ३१ गते आइतबार पनि पाँच खेलहरु हुने संयोजक श्रेष्ठले बताए ।

भन्सार युवा परिवार, भिमसेन युवा क्लब र सालसिस्ने युवा क्लब, भन्सार–१ तनहुँको संयुक्त आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२५,२१० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,१२,२१० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

Post Comments