News जहदालाई यु–१३ जुनियर कपको उपाधि
गोलनेपाल

इटहरी । यहाँ सम्पन्न यु–१३ जुनियर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जहदा फुटबल क्लब, मोरङले जितेको छ । फाइनलमा लर्ड बुद्ध स्कुल, सुनसरीलाई टाईब्रेकरमा हराउँदै जहदा च्याम्पियन बनेको हो ।

डिभिएम स्कुलको खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल ३–३ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने जहदाले ४–२ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

विजेता बनेको जहदाले उपाधिसहित नगद १५ हजार हात पार्यो भने उपविजेता लर्ड बुद्धले १२ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ फाइनल खेलको म्यान अफ द म्याच लर्ड बुद्धका रिदम गहतराज घोषित भए । उत्कृष्ट गोलरक्षक जहदाका कृष्ण खड्का बन्दा उत्कृष्ट डिफेन्डर लर्ड बुद्धका सेसेहाङ लिम्बु घोषित भए ।

उत्कृष्ट मिडफिल्डर जहदाका आकाश ठकुरी चुनिंदा उत्कृष्ट फरवार्ड पनि जहदा कै रोशन धामी घोषित भए । त्यस्तै उत्कृष्ट प्रशिक्षक जहदाका कल्पना कार्की बन्दा उदीयमान खेलाडी जुट बिकास फुटबल एकेडेमीका सम्बन्ध राई बने ।

सर्वाधिक गोलकर्ताको पुरस्कार पनि जुट बिकास कै नमुहाङ राईले हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लर्ड बुद्धका हिकमत कार्की घोषित भए । विजयी खेलाडीहरुलाई इटहरी उपमहानगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष जितेन्द्र थापा लगायतका अतिथीहरुले पुरस्कृत गरे ।

जुट बिकास फुटबल एकेडेमी, इटहरीको आयोजनामा असार २२ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments