News चाम्बास, फ्रेण्डशीप, म्याग्दे र सेभेन स्टार क्वाटरफाइनलमा
सुरज राना मगर

भन्सार । चाम्बास युवा क्लब (बी), फ्रेण्डशीप युवा क्लब, म्याग्दे क्लब र सेभेन स्टार क्लब यहाँ जारी १६औं भानु कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

भानु रंगशालामा भएको दिनको पहिलो खेलमा चाम्बासले आयोजक भन्सार युवा परिवार (बी) लाई २–१ ले हराउँदै कवाटरफाइनलमा प्रवेश गर्यो । खेलमा चाम्बासका आशिष भुजेल म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा फ्रेण्डशीपले हिल्ली फिल्डर गोरखा एफसीलाई ३–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । खेलमा फ्रेण्डशीपका यामी म्यान अफ द म्याच घोषित भए ।

तेस्रो खेलमा म्याग्देले ठुलो बगैचा युवा क्लब (बी) लाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा म्याग्देका गोलरक्षक कुशल भण्डारी म्यान अफ द म्याच घोषित भए ।

दिनको चौथो खेलमा सेभेन स्टारले युथ क्लबलाई टाईब्रेकरमा ३–० ले निराश तुल्याये । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा सेभेन स्टारका गोलरक्षक रमेश श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत साउन ३ गते बुधबार पनि चार खेलहरु हुने खेल संयोजक सन्दिप श्रेष्ठले जानकारी दिए ।

भन्सार युवा परिवार, भिमसेन युवा क्लब र सालसिस्ने युवा क्लब, भन्सार–१ तनहुँको संयुक्त आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२५,२१० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,१२,२१० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सन्दिप श्रेष्ठले जानकारी दिए । फाइनल खेल साउन ६ गतेका दिन हुनेछ ।

Post Comments