News लिगमा भिडियो असिसटेन्ट रेफ्रीको प्रयोग गर्दै भुटान
गोलनेपाल

काठमाडौं । पछिल्लो समय पश्चिमेली देशका घरेलु फुटबल र ठूला प्रतियोगिताहरुमा रेफ्रीको निर्णय विवादरहित निष्पक्ष र सही होस भनेरै भिडियो असिसटेन्ट रेफ्री (भार) को प्रयोगलाई अनिवार्य बनाइएको छ । केही वर्ष यता युरोपियन क्लब फुटबलदेखि लिएर अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि ‘भार’को प्रयोग अनिवार्य जस्तै भईसकेको छ ।

पछिल्लो समय एसियाली फुटबलमा पनि ‘भार’को प्रयोग निरन्तर भईरहेको छ । तर दक्षिण एसियामा भने यही ‘भार’को प्रयोगलाई भुटानले पहिलोपटक प्रयोगमा ल्याएको छ । बुधबार (१९ जुलाई) देखि शुरु भुटानको शिर्ष लिग बब भुटान प्रिमियर लिगमा पहिलोपटक ‘भार’को प्रयोग भएको छ ।

लिगको उद्घाटन खेल अन्तरगत पारो एफसी र नाम्ल्हा एफसीबीचको खेलमा म्याच रेफ्रीले ‘भार’को प्रयोग गरेका थिए । सो खेलमा पारो एफसी ४–० ले विजयी भएको थियो । आगामी सेप्टेम्बरसम्म चल्ने लिगमा कुल १० टोलीहरु सहभागि छन् ।

फुटबलमा लगानी र त्यही अनुसारको प्रतिफल पनि हासिल गरिरहेको भुटानले घरेलु फुटबलमा भित्राएको यो आधुनिक प्रविधीले भुटानको फुटबललाई उकास्न अझै बल पुग्ने विश्वास गरिएको छ ।

स्मरण रहोस, ‘भार’ को आधिकारिक प्रयोग सबैभन्दा पहिले सन् २०१७ मा फिफा विश्वकपको आयोजना अघि रसिय मै सम्पन्न फिफा कन्फिडरेशन कपमा प्रयोग गरिएको थियो । त्यसलगतै अर्को वर्ष रसिया मै भएको फिफा विश्वकपमा पनि पहिलोपटक ‘भार’ को प्रयोग भएको थियो ।

यद्यपि ‘भार’ को पहिलो प्रयोग भने सन् २०१२ मा इटाली र नेदरल्याण्डसबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचमा भएको थियो ।

 

Post Comments