News चितलाङ मनसुन कपको सेमिफाइनलमा
गोलनेपाल

इटहरी । चितलाङ फुटबल क्लब, काठमाडौं यहाँ जारी तेस्रो मनसुन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । शनिबार भएको चौथो क्वाटरफाइनलमा चितलाङले फ्रेण्डशीप युथ क्लब, रामधुनी, सुनसरीलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

बुढासुब्बा खेलमैदानमा भएको खेलमा चित्लाङका लागि अनिष चौधरी र जिन्लप तामाङले गोल गरे । पराजित फ्रेण्डशीपका लागि दिनेश राईले एक मात्र गोल फर्काएका थिए । खेलमा चितलाङका अनिष चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत साउन ७ गते आइतबारको पहिलो सेमिफाइनल खेल युनाइटेड क्लब अफ तरहरा र पञ्चायन फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

शान्तिनगर फुटबल क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही साउन ११ गतेका दिन हुनेछ ।

Post Comments