News बराह राईजिङ, जेभियर्स, शहिद स्मृति र सत्य नारायण सेमिफाइनलमा
गोलनेपाल

बिराटनगर । बराह राइजिङ स्कुल, जेभियर्स स्कुल, शहिद स्मृति आवासीय मावि र सत्य नारायण मावि यहाँ जारी एसईई कप अन्तरविद्यालय रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो क्वाटरफाइनलतर्फ बराहले युनिक एकेडेमीलाई २–० ले हरायो । बराहको जितमा कृष पौडेल र प्रसन राईले गोल गरे । खेलमा बराहका कृष पौडेल म्यान अफ द म्याच घोषित भए ।

दोस्रो क्वाटरफाइनलमा जेभियर्सले समता स्कुललाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा समताका मनोज खड्का म्यान अफ द म्याच चुनिए ।

तेस्रो क्वाटरफाइनलमा शहिद स्मृतिले थर्ड आई स्कुललाई टाईब्रेकरमा ५–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ शहिद स्मृतिका लागि युजिङ चौधरी र सुशिल राईले गोल गरे भने थर्ड आईका लागि रोजेश राना र सुशान्त चौधरीले गोल गरेका थिए । खेलमा शहिद स्मृतिका सुशिल राई म्यान अफ द म्याच घोषित भए ।

चौथो क्वाटरफाइनलमा सत्य नारायणले प्रजातन्त्र माविलाई ४–२ ले हरायो । सत्य नारायणको जितमा हेमन्त राजवंशीले दुई गोल गरे भने पृथ्वी राजवंशी र साजित आलमले एक–एक गोल गरे । पराजित प्रजातन्त्रका लागि भने धिरज उराव र रोशन सरदारले गोल गरे । खेलमा प्रजातन्त्रका रोशन सरदार म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत साउन १२ गते दुई सेमिफाइनल खेलहरु हुने आयोजकले जानकारी दियो । सभ्य कला समाज, बिराटनगर, मोरङको आयोजनामा जारी प्रतियोगितामा कुल ४५ विद्यालयका फुटबल टोलीहरु सहभागि छन् । प्रतियोगिताको फाइनल खेल भने साउन १३ गतेका दिन हुने खेल संयोजक बिक्रम कार्कीले बताए ।

 

Post Comments