News रोहितको टोली पेर्सिकको लगातार दोस्रो हार
गोलनेपाल

काठमाडौं । इण्डोनेसियाको शिर्ष लिगमा खेलिरहेका नेपालका स्टार डिफेन्डर रोहित चन्दको टोली पेर्सिक केदिरीले लिगमा लगातार दोस्रो हार बेहोरेको छ । लिगको पाँचौं खेलतर्फ समग्रमा तेस्रो हार बेहोर्ने क्रममा दश खेलाडीमा खुम्चिएको पेर्सिकले पेर्सिब बान्दुसँग १–२ ले निराश बन्न पुग्यो ।

घरेलु मैदानमा भएको खेलमा पेर्सिकले शुरुवाती अग्रता बनाए पनि अन्तिम केही मिनट सम्हालिन नसक्दा पराजित हुन पुग्यो । खेलको चौथो मिनट मै फ्लावियो सिल्वाको गोलबाट पेर्सिकले खेलमा अग्रता बनाएको थियो । तर ३४औं भरपर्दा खेलाडी रेनान सिल्वाले रातो कार्ड खाँदै मैदान छाडेपछि पेर्सिक पहिलो हाफबाटै दबाबमा परेको थियो ।

जसको फाईदा पेर्सिबले उठायो । ८३औं मिनटमा सिरो आल्वेसले पेर्सिबका लागि बराबरी गोल फर्काए भने त्यसको चार मिनट लगतै ८७औं मिनटमा र्यान कुर्नियाले दोस्रो गोल गर्दै पाहुना टोलीको जित सुनिश्चित गरे ।

यो हारले ५ खेलबाट ४ अंक जोडेको पेर्सिक रेलिगेशन क्षेत्रको १६औं स्थानमा झरेको छ । पेर्सिब भने ६ अंकका साथ १०औं स्थानमा छ । पेर्सिकले आफ्नो आगामी खेल अगस्त ३ तारीख बिहीबारका दिन पिएसएमसँग खेल्नेछ ।

Post Comments