News खेलाडीको उपचार खर्च एन्फाले भुक्तान गर्ने, बाँकी पुरस्कार रकम पनि प्रदान गर्ने (पत्रसहित)
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा( को साउन १९ गते शुक्रबार बसेको पाँचौं कार्यसमितिको बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा एन्फा कम्प्लेक्समा बसेको बैठकले खेलाडीहरुको हितमा केही महत्वपूर्ण निर्णय गरेको हो ।

जस अन्तरगत घाइते राष्ट्रिय खेलाडीहरुको उपचार खर्च एन्फाले भुक्तान गर्ने भएको छ । यद्यपि सम्बन्धित खेलाडीहरुले उपचार खर्च वापतको बिल पेश गर्नुपर्ने एन्फाले जनाएको छ । त्यस्तै खेलाडीहरुले पाउन बाँकी रहेको पुरस्कारहरु पनि आउने दिनहरुमा क्रमिक रुपमा प्रदान गर्ने निर्णय गरेको छ ।

जस अनुरुप गत मार्च २२ देखि ३१ तारीखसम्म दशरथ रंगशालामा सम्पन्न प्रधानमन्त्री थ्री नेशन्स कपको विजेता टोली नेपाललाई दिनुपर्ने प्रथम पुरस्कार वापतको ५ हजार अमेरिकी दामाशाही खेलाडीहरुलाई वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी आउँदो असोज ४ देखि १३ गतेसम्म नेपाल मै हुन गईरहेको साफ यु–१९ च्याम्पियनसिपका लागि १,९८,२८६ अमेरिकी डलर बजेट पारित गर्ने निर्णय गरेको छ । साथै प्रतियोगिताको टिकटदर साधारणतर्फ १०० र भिआइपीतर्फ ३०० तोक्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी फ्रेञ्चाईज महिला लिग, फुटसल लिगको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल राईट्स दिनेबारे पनि निर्णय भएको छ । बैठकले एन्फा महिला एकेडेमी तीन स्थानमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

त्यसबाहेक विभिन्न समितिहरु गठन गर्नुका साथै जिल्ला लिग, बी र सी डिभिजन लिगबारे पनि केही निर्णय गरेको छ । त्यस्तै एन्फाको विशेष साधारण सभा आउँदो भदौ २४ मा गर्ने निर्णय गरेको छ भने नियमित साधारणसभा असोज २९ मा गर्ने निर्णय गरेको छ ।

बैठकले गरेको निर्णयहरु विस्तृत रुपमा पढ्नुहोस्ः

Post Comments