News स्वीडेनद्वारा जापानको चुनौति समाप्त
गोलनेपाल

काठमाडौं (एजेन्सी) । उपाधिको दावेदार मध्ये एक मानिएको पूर्व विजेता जापान पनि जारी फिफा महिला विश्वकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ । शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा स्वीडेनले २–१ ले हराउँदै जापानको चुनौति क्वाटरफाइनलबाटै समाप्त पारेको हो ।

न्युजिल्याण्डको अकल्याण्डमा भएको खेलको ३२औं मिनटमा आमन्दा लेस्टेडको गोलबाट स्वीडेनले नै खेलमा अग्रता बनाएको थियो । स्वीडीस टोलीले पहिलो हाफसम्म सोही अग्रतालाई कायम पनि राख्यो । ५१औं मिनटमा फिलिपा अंगेल्डालले पेनाल्टीबाट स्वीडेनका लागि दोस्रो गोल गरिन् । जुन खेलको निर्णायक गोल पनि बन्यो ।

उता खेलको ८७औं मिनटमा होनोका हायाशीले जापानका लागि एक गोल फर्काए तापनि टोलीलाई खेलमा फर्काउन भने अबेर भईसकेको थियो ।

स्वीडेनले अकल्याण्ड मै हुने पहिलो सेमिफाइनलतर्फ अगस्त १५ तारीखका दिन बलियो स्पेनको सामना गर्नेछ । स्पेनले शुक्रबार नै भएको पहिलो क्वाटरफाइनलमा अर्को दावेदार नेदरल्याण्डसलाई समान २–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ ।

Post Comments