News अष्ट्रेलियाले रच्यो इतिहास, इङल्याण्ड पनि सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । इतिहास रच्दै सह–आयोजक राष्ट्रेलिया जारी फिफा महिला विश्वकपमा पहिलोपटक सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । शनिबार ब्रिसबेनमा भएको तेस्रो क्वाटरफाइनलमा बलियो फ्रानसलाई हराउँदै अष्ट्रेलिया अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयको खेलमा पनि दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिइएको थियो । पेनाल्टी शुटआउटमा भने अष्ट्रेलियाले फ्रान्समाथि ७–६ को संघर्षपुर्ण जित निकाल्दै इतिहास रच्न सफल भयो ।

त्यस्तै शनिबार नै भएको अन्तिम क्वाटरफाइनलमा दावेदार मध्ये एक इङल्याण्डले पनि सेमिफाइनल यात्रा तय गरेको छ । सिड्नीमा भएको खेलमा इङल्याण्डले कोलम्बियामाथि २–१ को जित निकाल्यो र अन्तिम चारमा प्रवेश गर्यो ।

खेलको ४४औं मिनटमा मारिया सान्तोषको गोलबाट कोलम्बियाले सनसनीपूर्ण अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । पहिलो हाफ कै अतिरिक्त समयमा लाउरेन हेम्पले इङल्याण्डका लागि बराबरी गोल फर्काईन् । त्यस्तै ६३औं मिनटमा एलेसिया रुसोले दोस्रो तथा निर्णायक गोल गर्दै इङलिस टोलीको सेमिफाइनल स्थान पक्का गरेकी थिईन् ।

सेमिफाइनल समिकरण पनि पूरा

शनिबार सम्पन्न भएका दुई खेलहरुसँगै जारी फिफा महिला विश्वकपको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । जसअन्तरगत अगस्त १५ तारीखका दिन न्युजिल्याण्डको अकल्याण्डमा हुने पहिलो सेमिफाइनलमा स्पेनले स्वीडेनको सामना गर्नेछ भने १६ अगस्तका दिन सिड्नीमा हुने दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र इङल्याण्ड भिड्ने छन् ।

Post Comments