News मोहन बगानलाई चुनौति दिन तयार मच्छिन्द्र
गोलनेपाल

काठमाडौं । एसियाली क्लब फुटबलको प्रतिष्ठित एएफसी कपको प्रारम्भिक छनौटतर्फ दोस्रो चरणको खेलमा आज नेपालको मच्छिन्द्र फुटबल क्लबले चर्चित भारतीय क्लब मोहन बगान सुपर जायन्ट्ससँग प्रतिस्पर्धा गर्दैछ ।

जुन खेल नेपाली समयअनुसार बेलुका ७ः१५ बजेदेखि कोलकाता स्थित मोहन बगानको घरेलु मैदान साल्ट लेक स्टेडियममा हुँदैछ । आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । जित हात पार्ने टोली प्ले अफमा पनि पुग्नेछ ।

पछिल्लो समय केही लय गुमाएको देखिए पनि इण्डियन सुपर लिग क्लब मोहन बगान मच्छिन्द्र विरुद्ध बलियो प्रतिद्वन्द्वी बन्ने निश्चित छ । त्यसमा घरेलु मैदानको साथ र समर्थकको समर्थन पनि मोहन बगानलाई नै रहनेछ ।

उता पहिलो चरणको खेलमा भुटानी च्याम्पियन पारो एफसीलाई हराएर उत्साहित बनेको मच्छिन्द्र आजको खेलका लागि आत्मविश्वासी पनि छ । मच्छिन्द्रका प्रशिक्षक किशोर केसी भन्छने, “हामी यहाँ जितका लागि आएका हौं । हाम्रो तयारी पनि राम्रो रह्यो । मोहन बगान विरुद्ध हामी निश्चित जितका लागि खेल्नेछौं ।”

केसीका अनुसार पारो एफसीलाई हराएर आफूहरु उत्साहित र आत्मविश्वासी रहेकाले आजको खेलमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उता मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले पनि हाल टिम सन्तुलित र टिमको लय पनि राम्रो देखिएकोले नतिजा पनि राम्रो निस्किनेमा आशावादी रहेको बताए ।

स्मरण रहोस, मच्छिन्द्रले काठमाडौं मै भएको प्रारम्भिक छनौटको पहिलो चरणको खेलमा पारो एफसीलाई ३–२ ले हराउँदै दोस्रो चरणमा मोहन बगानसँगको भेट पक्का गरेको थियो ।

Post Comments