News सेन्ट जर्जलाई चौथो तालबाराही कपको उपाधि
गोलनेपाल

काठमाडौं । फेवा फुटबल क्लब, सिड्नीको आयोजनामा सम्पन्न चौथो तालबाराही कप नकआउट फुटबल प्रतियोगिताको उपाधि सेन्ट जर्ज नेप्लिज क्लबले जितेको छ । फाइनलमा सेन्ट जर्जले सगरमाथा फुटबल क्लबलाई हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

विजेता बनेको सेन्ट जर्जले उपाधिसहित नगद ५ हजार डलर हात पार्यो भने उपविजेता सगरमाथाले २ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । रुपक लामा फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।

उत्कृष्ट गोलरक्षक मिलन गिरी बन्दा उत्कृष्ट डिफेन्डर भुषण सुब्बा घोषित भए । उत्कृष्ट मिडफिल्डर मार्विन राई बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार विवेक गुरुङले हात पारे । त्यस्तै गोर्खा एफसी फेयर प्ले टिम चुनियो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी रवि पासवान घोषित भए ।

भेट्रानतर्फ माछापुच्छ्रेलाई उपाधि

त्यस्तै ३५ वर्ष माथिको भेट्रान फुटबल प्रतियोगिताको उपाधि माछापुच्छ्रे फुटबल क्लबले जितेको छ । माछापुच्छ्रेले फाइनलमा म्याकार्थुर नेप्लिज फुटबल क्लबलाई हरायो । विजेता बनेको माछापुच्छ्रेले उपाधिसहित १५ सय डलर हात पार्दा म्याकार्थुरले ८ सय डलरसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

भेट्रानतर्फ उत्कृष्ट गोलरक्षक रोशन शाही बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार छिरिङले हात पारे । हाम्रो क्लब फेयर प्ले टिम बन्दा अनिल गुरुङ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए ।

 

Post Comments