News राधाकृष्ण (बी), नव जीवन, रिच किड्स र आहनाको जित
सुरज राना मगर

बुटवल । प्रथम राधाकृष्ण कप यु–१८ नकआउट फुटबल अन्तरगत बिहीबार आयोजक राधाकृष्ण एफसी (बी), नव जीवन एफसी, रिच किड्स एफसी र आहना एफसीले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

बुटवल–९ स्थित नयाँ बसपार्क खेलमैदानमा भएको खेलमा राधाकृष्ण (बी) ले प्रतित एफसीलाई १–० ले हरायो । राधाकृष्णको जितमा सुजल बरालले एक मात्र निर्णायक गोल गरे । यो जितपछि राधाकृष्ण (बी) प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्यसैगरी नव जीवनले रामराम दैनाहा एफसीलाई ३–२ ले हरायो । नव जीवनको जितमा अनिष बिकले दुई गोल गर्दा करुण अधिकारीले एक गोल गरे । उता पराजित रामराम दैनाहाका लागि दुवै गोल राहुल मगरले गरे । यो जितपछि नव जीवन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अर्को खेलमा रिच किड्सले टिम शान्ति एफसीलाई ३–१ ले हरायो । रिच किड्सका लागि गोविन्द आलेले २ गोल गरे भने थप एक गोल सिद्धार्थ श्रीसले गरे । उता पराजित टिम शान्तिका लागि जनक ढकालले एक गोल फर्काए । जित हात पारेको रिच किड्स पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

दिनको अन्तिम खेलमा आहनाले बेलबास एफसीलाई ४–१ ले हरायो । आहनाको जितमा दर्शन बिक एक्लैले ह्याट्रिकसहित चार गोल गरे । उता पराजित बेलबासका लागि सुजल घलेले एक मात्र गोल फर्काए । यो जितसँगै आहना पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

राधाकृष्ण फुटबल क्लब, बुटवलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक अभिषेक खड्गीले जानकारी दिए । फाइनल खेल भदौ ४ गतेका दिन हुने पनि संयोजक खड्गीले बताए ।

Post Comments