News एएफसी च्याम्पियन्स लिगका लागि नेमार भारत आउने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । हालै साउदी प्रो लिग क्लब अल हिलालमा आवद्ध भएका ब्राजिलियन सुपरस्टार नेमार एसियाली क्लब फुटबलको प्रतिष्ठित एएफसी च्याम्पियन्स लिग खेल्न भारत आउने भएका छन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले निकालेको ड्र अनुसार नेमारको टोली अल हिलाल इण्डियन सुपर लिग क्लब मुम्बई सिटी एफसीसँगै समूह डी मा परेको छ । जहाँ यी दुई टोली बाहेक इरानको नसाजी मजन्दरन र उज्वेकिस्तानको नवबाहोर सामेल छन् ।

मुम्बईले २३ अक्टुबरका दिन रियाद स्थित अल हिलालको घरेलु मैदान किंग फाहद इन्टरनेशनल स्टेडियममा अवे म्याच खेल्नेछ । त्यस्तै ७ नोभेम्बरमा अल हिलाल र मुम्बई भारतमा भिड्ने छन् । सो बेला नेमार भारत आउने निश्चित छ ।

हाल अल हिलालमा नेमारसँगै अर्का ब्राजिलियन स्टार मेल्कम, कालीदु कुलीबेली, रुबेन नेभेज जस्ता स्टार खेलाडीहरु पनि सामेल छन् । त्यस्तै साउदी प्रो लिग मै खेलिरहेका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोको टोली अल नासर भने एएफसी च्याम्पियन्स लिगतर्फ समूह ई मा परेको छ ।

अल हिलाल एएफसी च्याम्पियन्स लिगको गत संस्करणको उपविजेता पनि हो । त्यस्तै डिफेन्डिङ च्याम्पियन भने जापानको उरावा रेड डायमन्डस रहेको छ ।

Post Comments