काठमाडौं (एजेन्सी) । अष्ट्रेलियामा जारी प्रतिष्ठित एएफसी महिला एसियन कप फुटबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।
समूह ए बाट दक्षिण कोरिया र अष्ट्रेलियाले क्रमशः समूह विजेता र उपविजेताका रुपमा क्वाटरफाइनलमा स्थान बनाउँदा सोही समूहको अर्को टोली फिलिपिन्सले उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै अन्तिम आठको यात्रा तय गर्यो ।
त्यस्तै समूह बी बाट चीन र उत्तर कोरियाले क्रमशः समूह विजेता र समूह उपविजेताका रुपमा क्वाटरफाइनलमा प्रवेश गर्दा सोही समूहको अर्को टोली उज्वेकिस्तानले उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीको रुपमा क्वाटरफाइनल यात्रा तय गर्यो । त्यसबाहेक समूह सी बाट जापान र चाइनिज ताइपेईले क्वाटरफाइनल यात्रा तय गरे ।
त्यस्तै दुई दक्षिण एसियाली राष्ट्र समूह बी मा रहेको बंगलादेश र समूह सी मा रहेको भारतले भने आफ्नो समूहमा एउटै खेल नजिती प्रतियोगिताबाट बाहिरिएका छन् ।
यस्तो छ क्वाटरफाइनल समिकरण
अब यही १३ मार्चदेखि शुरु हुने क्वाटरफाइनलतर्फ पहिलो क्वाटरफाइनलमा आयोजक अष्ट्रेलियाले उत्तर कोरियासँग खेल्नेछ । त्यस्तै १४ मार्चका दिन दुई क्वाटरफाइनल खेलहरु हुनेछन् । जसमा साविक विजेता चीनले चाइनिज ताइपेईको सामना गर्नेछ भने दक्षिण कोरियाले उज्वेकिस्तानसँग खेल्नेछ । त्यस्तै १५ मार्चका दिन हुने अन्तिम क्वाटरफाइनलमा जापानले फिलिपिन्सको सामना गर्नेछ ।