News मदन भण्डारी स्पोर्टस एकेडेमी र स्वीजरल्याण्ड एफसी फाइनलमा भिड्ने
सुरज राना मगर

भुल्का । यहाँ जारी भुल्का कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा मदन भण्डारी स्पोर्टस एकेडेमी र स्वीजरल्याण्ड फुटबल क्लब भिड्ने भएका छन् । प्रतियोगिता अन्तरगत भदौ १३ गते दुवै सेमिफाइनल खेलहरु सम्पन्न भए ।

तिलोत्तमा–११ स्थित स्थानीय खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा मदन भण्डारीले चरङ्गे एफसीलाई शून्यका विरुद्ध १ गोलले हरायो । मदन भण्डारी स्पोर्टस एकेडेमीको जितमा आयुष गुरुङले एक मात्र निर्णायक गोल गरे ।

त्यस्तै दोस्रो सेमिफाइनलमा स्वीजरल्याण्डले आयोजक भुल्का फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले हरायो । खेलमा स्वीजरल्याण्डका लागि जमिर मियाँले ह्याट्रिकसहित चार गोल गरे भने थप दुई गोल अंगत थापाले गरे ।

प्रतियोगिता अन्तरगत भदौ १४ गते बिहीबारका दिन हुने फाइनलमा मदन भण्डारी स्पोर्टस एकेडेमी र स्वीजरल्याण्ड एफसी उपाधिका लागि भिड्ने आयोजक क्लबका अध्यक्ष अमन दिप सेन्चुरीले जानकारी दिए । गाउँघरको फुटबल प्रवद्र्धन गर्न र स्थानीय खेलाडीहरुलाई अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष सेन्चुरीले बताए ।

जनैपूर्णिमाको अवसर पारी आयोजित प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments