
काठमाडौं । म्यानमार विरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तयारीमा रहेको नेपाली टोलीको फाइनल स्क्वाड आइतबार घोषणा गरियो । मुख्य प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनिसले केही अनुभवी खेलाडीहरुलाई बाहिर राख्दै नयाँ अनुहारहरुलाई २३ सदस्यीय फाइनल स्क्वाडमा सामेल गरे ।
पछिल्लो समय नियमित जसो टोलीमा पर्दै आएका गोलरक्षक बिशाल श्रेष्ठ, बिकेश कुथु, देवेन्द तामाङ र बिमल घर्ती मगर जस्ता खेलाडीहरु म्यानमार विरुद्ध खेल्ने टोलीमा अटाएनन् । फाइनल स्क्वाडमा परेका अधिकांश नयाँ अनुहार युवा खेलाडीहरु नै रहेका छन् ।
टोलीमा स्थान बनाउने नयाँ अनुहारहरुमा जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, छिरिङ लामा, आशिष गुरुङ, अन्जन राई, उत्सव राई र हिसुब थपलिया रहेका छन् । त्यस्तै फाइनल स्क्वाड मै परेका अभिषेक बराल र कृतिशरत्न छुन्जु यसअघि राष्ट्रिय टोलीमा परे पनि उनीहरु अन्तर्राष्ट्रिय डेब्यु गर्न भने बाँकी छ ।
हाल टोलीमा परेका नयाँ अनुहारहरु घरेलु फुटबलमा राम्रो आशा बोकेका खेलाडीहरु नै छन् । केही महिना अघि सम्पन्न ए डिभिजन लिगमा पनि ती खेलाडीहरुको प्रदर्शन प्रशंसनीय नै रह्यो । लिग अवधिभर मैदान मै पुगेर खेल नियालेका मुख्य प्रशिक्षक भिन्सेन्जोले ती खेलाडीहरुको सम्भाव्यता देखेरै फाइनल स्क्वाडमा पारेको धेरैको बुझाई छ ।
जे होस, नयाँ र पुराना खेलाडीहरुको सम्मिश्रणले नेपाली टोलीले पनि नौलो प्रदर्शन र सन्तोषजनक नतिजा दिन सकुन भन्ने अपेक्षा धेरै नेपाली फुटबल समर्थकहरुको छ ।
स्मरण रहोस, नेपालले यही अक्टुबर ८ र ११ तारीखका दिन म्यानमारको यांगोन शहरमा फिफा विन्डो अन्तरगत घरेलु टोली म्यानमार विरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तय भईसकेको छ ।