News २४ औं निसर्ग हस्पिटल फुटबल प्रतियोगिताः सुप ११ र सुर्मादेवी च्याम्पीयन
गोलनेपाल

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ गाउँमा भएको २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुष तर्फको उपाधि सुदुरपश्चिम ११ स्पोर्टस क्लबले जितेको छ भने महिला तर्फको उपाधि सुर्मादेवी युवा क्लबले हात पारेको छ ।

न्यु युवा सुन्दर शक्ती युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा भएको महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फको फाईनलमा सिआउर सेभेन फुटबल क्लबलाई १–० हराउँदै सुप ११ ले उपाधि जितेको हो । उपाधि जिताउने निर्णायक गोल सुप ११ का लागि भरत टमाटाले गरे । उपाधिसँगै सुप ११ ले नगद लाख सहित ट्रफी पाएको छ भने उपविजेता सिआउर सेभेनले नगद पचास हजार सहित ट्रफी प्राप्त गरेको छ । पुरुष तर्फ सिआउर सेभेनका किरण योगी सर्वोकृष्ट खेलाडी बन्दा सुप ११ का भरत टमाटा सर्वाधिक गोलकर्ता र सुप ११ कै आकाश बुढा उत्कृष्ट गोलरक्षक भए ।

महिला तर्फको उपाधि सुर्मादेवी युवा क्लबले जितेको छ फाईनलमा सुमादेवी युवा क्लबले पटेला स्मार्ट क्लबलाई टाईब्रेकरमा किराना लगाउँदै उपाधि जितेको हो । निर्धारित समयमा दुबै टोलीले १–१ को बराबरी खेलेका थिए । सुर्मादेवीका लागि विर्सना चौधरी र पटेलाका लागि ममता पुन मगरले गोल गरेकी थिईन् । टाईब्रेकरमा सुर्मादेवीले पटेलालाई ३–१ ले हराउँदै उपाधि जित्यो । सुर्मादेवीका लागि शिवागी स्नेही, विपना स्नेही र अस्मिता चौधरीले गोल गरिन भने विर्सना चौधरी र धना बोहोराको प्रहार गोलमा परिणत हुन सकेन् । यस्तै पटेलाका लागि कमला विष्टको प्रहार मात्रै गोल भयो । ममता पुन मगर, नैना बोहोरा र अनिषा कुँवरले गोल गर्न सकिनन् । महिला तर्फको विजेता भएसँगै सुर्मादेवीले नगद २५ हजार सहित ट्रफी पाउँदा उपविजेता पटेलाले नगद १५ हजार सहित ट्रफी पाएको छ । महिला तर्फ सुर्मादेवीकी विर्सना चौधरी सर्वोकृष्ट खेलाडी बन्दा सुर्मादेवीकै गायत्री मल्ल उत्कृष्ट गोलरक्षक र पटेलाकी ममता पुन मगर सर्वाधिक गोलकर्ता बनिन् ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमबा बीच पुरस्कार वितरण गरिएको छ । कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष तिर्थराज पन्त लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा कैलारी गाउँपालिका र सहप्रबद्र्धकमा कैलारी गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ । वि.स. २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ती युवा क्लबले अटवारी र तिजको अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको क्लबका अध्यक्ष बृक्षलाल चौधरीले जानकारी दिए ।

Post Comments