News प्याब्सन–एन्फा सुनसरी प्रेसिडेन्ट कप अन्तरविद्यालय लिग प्रतियोगिता शुरु
गोलनेपाल

इटहरी । एन्फा सुनसरीको आयोजना तथा प्याब्सन सुनसरीको संयोजनामा प्याब्सन–एन्फा सुनसरी प्रेसिडेन्ट कप अन्तरविद्यालय छात्र लिग फुटबल प्रतियोगिता शुरु भएको छ ।

धरान स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको उद्घाटन खेलमा सिद्धार्थ इङलिस स्कुल, बराहक्षेत्रले महेन्द्र मेमोरियल स्कुल, दुहबीलाई २–१ ले हरायो । सिद्धार्थको जितमा दिनेश कटुवाल र सरुन चौधरीले गोल गरे ।

पराजित महेन्द्र मेमोरियलका लागि आकाश भगतले गोल फर्काएका थिए । खेलमा सिद्धार्थका सरुन चौधरी म्यान अफ म्याच घोषित भए ।

प्रतियोगिताको पहिलो दिन नै भएको दोस्रो खेलमा होलिल्याण्ड इन्टरनेशनल स्कुल, धरानले हिमशिखर बोर्डिङ स्कुल, इटहरीलाई ३–१ ले हरायो । होलिल्याण्डको जितमा युकपुङ लिम्बु, संजय राई र रोशन श्रेष्ठले गोल गरे ।

त्यस्तै पराजित हिमशिखरका लागि नेल्सन गुरुङले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा होलिल्याण्डका संजय राई म्यान अफ द म्याच घोषित भए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी जिल्ला खेलकुद विकास समिति, सुनसरीका अध्यक्ष दिपक राईले गरेका थिए ।

सिंगल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल चार विद्यालयका टोलीहरु सहभागि छन् । प्रतियोगिताको समापन असोज १४ गतेका दिन हुनेछ ।

Post Comments