News नेपाललाई भारत नै तगारो
गोलनेपाल

काठमाडौं । दक्षिण एसियाली फुटबलमा नेपालका लागि पटक–पटक तगारो बन्दै आएको भारत जारी साफ यु–१९ च्याम्पियनसिपमा फेरि बाधक बनेको छ । बुधबार दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपालले भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो ।

निर्धारित समयको रोमाञ्चक खेल १–१ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा भारतले नेपालमाथि ३–२ को जित निकाल्दै फाइनल स्थान पक्का गर्न सफल भएको हो ।

खचाखच भरिएको रंगशालामा घरेलु दर्शकहरुको बलियो साथ पाए पनि गोलको अग्रता भने भारतले लिएको थियो । २६औं मिनटमा साहिल खुर्शिदले बक्सभित्रबाट बाँया कुना च्यापेर गरेको कडा प्रहार सहजै गोलमा परिणत भएको थियो ।

भारतले पहिलो हाफसम्म त्यो अग्रता कायम राखे तापनि दोस्रो हाफको अन्तिमतिर गोल खान पुगेको थियो । नेपालका लागि उत्कृष्ट लयमा रहेका समिर तामाङले ७४औं मिनटमा हेडद्वारा सटिक गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

तर पेनाल्टी शुटआउटमा भने नेपाल चुक्न पुग्यो । भारतले अब शनिबार हुने फाइनलमा पाकिस्तानसँग उपाधिका लागि भिड्नेछ । स्मरण रहोस, बुधबार नै भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले भुटानलाई हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।

Post Comments