News दोस्रो नागस्वती भेट्रान्स कपः फाइनलमा आयोजक कै दुई टोली भिड्ने
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ जारी दोस्रो नागस्वती भेट्रान्स कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आयोजक नागस्वती भेट्रान्स क्लब ए र बी उपाधिका लागि भिड्ने भएका छन् । शुक्रबार भएको दुई सेमिफाइनलतर्फ आ–आफ्नो खेलमा जित हात पार्दै आयोजककै दुई टोली उपाधिका लागि भिड्ने पक्का भएको हो ।

हेटौडा–७ स्थित नवज्योति खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा नागस्वती बी ले एनआरटी भेट्रान्सलाई ३–१ ले हरायो । नागस्वती बी का लागि विकर्ण श्रेष्ठ, राजकुमार घिसिङ र कन्या सुब्बा गुरुङले गोल गरे । पराजित एनआरटीका लागि राजन नेपालीले एक मात्र सान्त्वना गोल फर्काए ।

दोस्रो सेमिफाइनलमा नागस्वती ए ले चितवन भेट्रान्सलाई शून्यका विरुद्ध १ गोलले हरायो । नागस्वती ए का लागि दिपेन राईले एक मात्र निर्णायक गोल गरे । फाइनल खेल असोज २० गते शनिबार नागस्वती ए र बी बीच हुनेछ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन हेटौडा–७ का वडा अध्यक्ष दामोदर गौतमले गरेका थिए । प्रतिकुल मौसमका कारण असोज १६ गते हुने उद्घाटन कार्यक्रम शुक्रबार गरिएको आयोजकले जानकारी दियो ।

नागस्वती भेट्रान्स क्लब, हेटौडा–७, नागस्वती, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार पाउनेछ ।

Post Comments