
तुल्सीपुर । दुर्गा मन्दिर युवा क्लब (डिएमसी), तिलोत्तमा–९, तुल्सीपुर, रुपन्देहीको आयोजनामा स्व. लक्ष्मण गुरुङ स्मृति डिएमसी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन भएका दुई खेलहरुमा बेलबास एफसी र युनाइटेड ब्वाईजले विजयी शुरुवात गरे ।
तिलोत्तमा–९, केवलानी स्थित गौतमबुद्ध उच्च माविको खेलमैदानमा भएको उद्घाटन खेलमा बेलबासले सञ्जिवनी युवा क्लबलाई २–० ले हरायो । खेलमा बेलबासका अनुज गैरे म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा युनाइटेड ब्वाईजले न्यु सिर्जना युवा क्लबलाई समान २–० ले हरायो । खेलमा युनाइटेडका बिशाल सुनार म्यान अफ द म्याच घोषित भए । जित हात पारेका बेलबास र युनाइटेड दुवै टोली क्वाटरफाइनलमा प्रवेश गरेको खेल संयोजक जिवन सुवेदीले बताए ।
कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त समेत संयोजक सुवेदीले बताए । फाइनल खेल भने कार्तिक ३ गतेका दिन हुनेछ ।