News अन्जनको उपलब्धीः नेपालका 'टप स्कोरर'
गोलनेपाल

काठमाडौं । फिफा विश्वकप छनौटको प्रारम्भिक चरणतर्फ लाओस विरुद्धको पहिलो लेगको खेलमा नेपालले पाहुना टोली विरुद्ध १–१ गोलको बराबरी खेल्यो । शुरुवाती गोल खाएर पछि परेको स्थितिमा नेपालका लागि अन्जन बिष्टले गोल गर्दै घरेलु टोलीलाई सम्भावित हारबाट जोगाए ।

बिहीबार अन्जनले लाओस विरुद्ध गरेको त्यो गोल देशका लागि जति महत्वपूर्ण थियो, त्यति नै उनकै लागि त्यो गोल विशेष पनि थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि अन्जनको त्यो १३औं गोल थियो ।

योसँगै उनी नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा हरि खड्का र निराजन रायमाझीसँगै संयुक्त रुपमा अग्रपंक्तिमा उभिए । यद्यपि सक्रिय खेलाडीका रुपमा भने नेपालका लागि सर्वाधिक गोल गर्ने अन्जन एक्ला खेलाडी समेत बने ।

अब अन्जनलाई नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्न र सर्वाधिक गोलको किर्तिमान भंग गर्न केवल एक गोलको खाँचो पर्नेछ । सम्भवत त्यो किर्तिमान पनि छिटै अन्जनले तोड्ने निश्चित प्रायः छ ।

स्मरण रहोस, नेपालले विश्वकप छनौटतर्फ लाओस विरुद्ध दोस्रो लेगको खेल अक्टुबर १७ तारीखका दिन लाओस कै घरेलु मैदानमा खेल्ने कार्यक्रम छ ।

Post Comments