
प्रकाशपुर । छैठांैं प्रकाशपुर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि पूर्वाञ्चल एपिएफ, पकली, सुनसरीले जितेको छ । फाइनलमा आयोजक प्रकाशपुर फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।
प्रकाश माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा पूर्वाञ्चल एपिएफका लागि कुमार राई र हरी कार्कीले गोल गरे । फाइनल खेलको म्यान अफ द म्याच भने आयोजक प्रकाशपुरका प्रवेश कार्की घोषित भए ।
विजेता बनेको पूर्वाञ्चल एपिएफले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता प्रकाशपुरले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक एपिएफका सुजन बिक चुनिए भने उत्कृष्ट डिफेन्डर प्रकाशपुरका रुबिन जंग कार्की बने । उत्कृष्ट मिडफिल्डर प्रकाशपुर कै उमेश कार्की बन्दा उत्कृष्ट फरवार्ड एपिएफका हरी कार्की चुनिए ।
उदियमान खेलाडी प्रकाशपुरका सुदिप पाण्डे बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि प्रकाशपुर कै संजय लिम्बुले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २५०० र ट्रफी हात पारे ।
प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आयोजक प्रकाशपुर कै एकराज बुढाथोकी घोषित भए । त्यसवापत उनले नगद ३५०० र ट्रफी हात पारे । विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बराहक्षेत्र नगरपालिका, सुनसरीका मेयर रमेश कार्की लगायतले पुरस्कृत गरे ।
प्रकाशपुर फुटबल क्लब, बराहक्षेत्र–१०, सुनसरीको आयोजनामा असोज २० गतेदेखि शुरु भएको प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।