रामपुर । यहाँ सम्पन्न ज्योतिपुञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि न्यु युथ युनियन क्लब, पाल्पाले जितेको छ । डर्बी भिडन्तका रुपमा रहेको फाइनलमा न्यु युथ युनियनले अर्को पाल्पाली टोली आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुरलाई हराउँदै च्याम्पियन बनेको हो ।
रामपुर–७, किसानबारी स्थित आयोजक क्लब कै खेलमैदानमा भएको उपाधि भिडन्तमा न्यु युथ युनियनले ज्योतिपुञ्जलाई १–० ले हरायो । न्यु युथ युनियनका लागि सबी गुरुङ्गले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता सबी नै फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।
विजेता बनेको न्यु युथ युयिनले उपाधिसहित नगद १ लाख ५५ हजार हात पार्यो भने उपविजेता ज्योतिपुञ्जले १ लाख ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक न्यु युथ युनियनका दिपेश परियार बन्दा उत्कृष्ट डिफेन्डर ज्योतिपुञ्जका निशान रावल चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने फर्साटिकर युवा क्लबका आशिष जिसीले हात पारे ।
प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आयोजक ज्योतिपुञ्जका मोहित गुरुङ घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५,५५५ रुपैयाँसहित ट्रफी हात पारे ।
विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा, उपमेयर बालकुमारी थापा, आयोजक ज्योतिपुञ्ज युवा क्लबका अध्यक्ष सुदिप गौतम लगायतले पुरस्कृत गरेका थिए ।
विजयादशमी र क्लबको स्थापना दिवसको अवसर पारी रामपुर नगरपालिका, पाल्पाको पर्यटन, प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा विभिन्न जिल्लाका गरी कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।