
शनिश्चरे । झापाको अर्जुनधारा ११ स्थित लक्ष्मीधाप खेलमैदानमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा आइतबार शनिश्चरे एफसीले आयोजक लक्ष्मीधाप स्पोर्टस् क्लबमाथि गोलवर्षा गरेको छ ।
खेल सुरु भएको एक मिनेट नबित्दै आयोजकले गोल गरेर अग्रता लिए पनि जोगाउन नसक्दा अनुभवी खेलाडीले भरिएको शनिश्चरेले बाँकी समय दबाबमा राख्यो । फलतः शनिश्चरे ७-३ गोलको फराकिलो अन्तर निकालेर सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिश्चरेका लागि देवेन्द्र तामाङले प्रतियोगिताकै पहिलो ह्याट्रिकसहित ४ गोल गरे । खेलको पहिलो मिनेटमै आयोजकका कृतन विशुंगेले गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए ।
तर, दोस्रो मिनेटमा शनिश्चरेले पाएको फ्रिकिकमा देवेन्द्रले उत्कृष्ट गोल गरे । उनैले ६ मिनेटमा अर्को फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गरेर २-१ गोलको अन्तर निकाले । यसैगरी १२औँ मिनेटमा थप गोल गर्दै पहिलो ह्याट्रिक पूरा गरे ।
यसैगरी, १९औँ मिनेटमा शनिश्चरेका निमा तामाङले गोल गरेर फराकिलो अन्तर निकाले पनि २०औँ मिनेटमा आयोजकका कृतनले व्यक्तिगत दोस्रो गोल गरे । २४औँ मिनेटमा सौगात तामाङले गोल गर्दै ५-२ गोलको अन्तर निकालेका थिए । यसैबीच, देबेन्द्र तामाङले २५औँ मिनेटमा व्यक्तिगत चौथो गोल गरे ।
यस्तै, आयोजकका बाबु धिमालले खेलको ३२औँ मिनेटमा गोल गरेर खेलमा फर्किने प्रयास गरे पनि सम्भव भएन । आयोजकविरुद्ध निमाले नै व्यक्तिगत दोस्रो गोल गरेर ७-३ गोलको फराकिलो अन्तरमा जित दर्ता गरे ।
खेलको म्यान अफ दी म्याच शनिश्चरेका देवेन्द्र तामाङ घोषित भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, आयोजक कमिटीका अध्यक्ष वीरबहादुर राई, हाँस्य कलाकार विल्सनविक्रम राईलगायतले नगद २ हजार ५ सय र ट्रफी प्रदान गरे ।
सोमबार न्यू स्टार क्लब खोपबाडीले बिर्तामोड युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । कात्तिक ४ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजारसहित ट्रफी पाउने छ भने उपविजेताले नगद ३१ हजारमा चित्त बुझाउनु पर्नेछ ।