News कुर्दन र दाजुभाई एफसीको जित
गोलनेपाल

चन्द्रागिरी । छैठौं नैकाप गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता अन्तरगत आइतबार कुर्दन फुटबल एकेडेमी र दाजुभाई फुटबल क्लबले जित हात पारेका छन् ।

नैकाप खेलमैदानमा भएको दिनको पहिलो खेलमा कुर्दनले गुणकेशरी युथ क्लबलाई ४–१ ले हरायो । कुर्दनको जितमा रन्जन श्रेष्ठले दुई गोल गर्दा अविरल रिजाल र सुजित राउतले एक–एक गोल गरे । गुणकेशरीका लागि समिर कार्कीले एक मात्र गोल फर्काएका थिए ।

खेलमा कुर्दनका साहिल राणा म्यान अफ द म्याच चुनिए । यो जितसँगै कुर्दन प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै दोस्रो खेलमा दाजुभाईले दिपशिखा युवा समुहलाई ३–१ ले हरायो । दाजुभाईका लागि कब्बु कान्दङ्वा, खेमराज तामाङ र अनिल गुरुङले गोल गरे । पराजित दिपशिखाका लागि बिशाल श्रेष्ठले एक मात्र गोल फर्काए ।

खेलमा दाजुभाईका सुजन खनाल म्यान अफ द म्याच घोषित भए । यो जितसँगै दाजुभाई एफसी पनि प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरी स्पोर्टस एकेडेमी, चन्द्रागिरी–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो कार्तिक २५ गतेका दिन हुनेछ ।

Post Comments