News वडा नम्बर ९ लाई वडास्तरीय भेट्रान च्यालेन्ज कपको उपाधि
गोलनेपाल

उर्लाबारी । उर्लाबारी–३ मंगलबारेस्थित प्रस्तावित सालबारी रंगशालामा सम्पन्न भएको प्रथम वडास्तरीय भेट्रान च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ९ ले जितेको छ ।

फाइनलमा वडा नम्बर ९ ले वडा नम्बर २ लाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । वडा नम्बर ९ को जितमा उत्तम लिम्बुले दुई गोल गरे भने लालमन गुरुङले थप एक गोल गरेका थिए ।

विजेता बनेको वडा नम्बर ९ ले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता वडा नम्बर २ ले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ वडा नम्बर ९ कै वर्चश्व रह्यो । वडा नम्बर ९ का बिनोद गौतम, उत्तम लिम्बु र निशान जंग बस्नेत क्रमशः उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उतकृष्ट प्रशिक्षक चुनिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि वडा नम्बर ९ कै मानु थापा घोषित भए ।

मंगलबारे भेट्रान क्लबको आयोजनामा गत असोज २६ गतेदेखि शुरु भएको प्रतियोगितामा उर्लाबारीका ९ भेट्रान टिमहरुले सहभागिता जनाएका थिए ।

Post Comments