News फिफा विश्वकप छनौटतर्फ नेपालले चाइनिज ताइपेई र अष्ट्रेलिया विरुद्ध खेल्ने खेलहरु स्थगित
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको नियमनकारी निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप छनौट २०२२ र एएफसी एसियन कप छनौट २०२३ का खेलहरु तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

हाल विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण बिहीबार फिफाको मुख्यालयमा बसेको फिफा र एएफसीको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । फिफाका अनुसार फुटबलमा आवद्ध रहेका सबै व्यक्तिहरुको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएको छ ।

साथै विश्वकप छनौट, एसियन कप छनौट, महिला ओलम्पिक छनौट लगायतका विभिन्न खेलकुद गतिविधीहरुबारे फिफा र एएफसीले आफ्ना विशेषज्ञहरुसँग आवश्यक परामर्श गरेर सम्बन्धितलाई जानकारी गराउने समेत बताएको छ । फिफाले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरेर कोरोना भाइरसको प्रभावबारे आवश्यक निरीक्षणलाई निरन्तरता दिने पनि बताएको छ ।

स्मरण रहोस, फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौटतर्फ नेपालले आउँदो मार्च २६ र ३१ तारीखका दिन क्रमशः चाइनिज ताइपेई र अष्ट्रेलियासँग दशरथ रंगशालामा खेल्ने कार्यक्रम थियो । जुन अब तत्कालका लागि नहुने पक्का भएको छ ।

 

Post Comments