News राजाबास च्यालेञ्ज कप शुरु, सप्तकोशीको विजयी शुरुवात
गोलनेपाल

राजाबास । सोमबारदेखि शुरु २२औं राजाबास च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगितामा सप्तकोशी फुटबल क्लबले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा सप्तकोशीले प्रकाशपुर फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै विजयी शुरुवात गरेको हो ।

त्यसअघि राजाबास स्थित सरस्वती माविको खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ सप्तकोशीका लागि अशन राईले गोल गरे भने प्रकाशपुरका लागि सौरभ राउतले गोल गरेका थिए ।

टाईब्रेकरमा भने सप्तकोशीले प्रकाशपुरमाथि ४–२ को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्न सफल भयो । खेलमा सप्तकोशीका अशन राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५०० र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत कार्तिक १४ गते मंगलबारको प्रिक्वाटरफाइनल खेल चक्रघट्टी फुटबल क्लब र जनचेतना युवा क्लबबीच हुने आयोजकले जानकारी दियो । त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी बराहक्षेत्र नगरपालिकाकी नगर उपप्रमुख नन्द कुमारी राईले गरेकी थिईन् ।

राजाबास युथ क्लब, बराहक्षेत्र–९, राजाबास, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक २४ गतेका दिन हुनेछ ।

Post Comments