News सलेम र सामन्था एसियाका वर्ष खेलाडी
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एसियाली फुटबल महासंघ (एएफसी) ले वार्षिक रुपमा प्रदान गर्दै आएको एएफसी वर्ष खेलाडीको पुरस्कार यसपटक पुरुषतर्फ साउदी अरेबियाका सलेम अल–दावसरीले हात पारेका छन् । कतारको दोहामा सम्पन्न अवार्ड कार्यक्रमतर्फ पुरुषतर्फ सलेम वर्ष २०२२ का लागि एसियाका उत्कृष्ट खेलाडी बनेका हुन् ।

कतारमा सम्पन्न सन् २०२२ को फिफा विश्वकपको समूह चरणतर्फ साउदीले अर्जेन्टिनामाथि २–१ को ऐतिहासिक जित हात पार्दा ३२ वर्षिय साउदी विंगर सलेमले निर्णायक गोल गरेका थिए । क्लब फुटबलमा अल हिलालका लागि खेलिरहेका सलेमले क्लबलाई साउदी प्रो लिग र एएफसी च्याम्पियन्स लिग जिताउन पनि अहम भूमिका खेलेका थिए ।

अल हिलालले सन् २०२१–२२ को साउदी प्रो लिग र सन् २०२१ को एएफसी च्याम्पियन्स लिग जित्दा सलेम टोलीका महत्वपूर्ण खेलाडी थिए । त्यस्तै अल हिलाललाई सन् २०२२ को एएफसी च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन पनि सलेमको महत्वपूर्ण योगदान थियो । पुरुषतर्फको वर्ष खेलाडी बन्ने क्रममा सलेमले कतारका अल्मोज अली र अष्ट्रेलियाका म्याथ्यु लेकीलाई पछि पारे ।

पुरुषतर्फको वर्ष अन्तर्राष्ट्रिय खेलाडी दक्षिण कोरियाका किम मिन जाई घोषित भए । वर्षका उत्कृष्ट पुरुष प्रशिक्षक भने जापानका हाजिमे मोरियासु घोषित भए । उत्कृष्ट वर्ष युवा खेलाडी पनि जापान कै कुर्यु मात्सुकी बने । पुरुषतर्फको वर्ष फुटसल खेलाडी भने इरानका मोस्लेम ओलादघोबाद घोषित भए ।

महिलातर्फ अष्ट्रेलियाकी स्टार फरवार्ड सामन्था केर वर्ष खेलाडी चुनिईन् । इङलिस क्लब चेल्सीका लागि व्यवसायीक फुटबल खेलिरहेकी सामन्थाले यसै वर्ष अष्ट्रेलिया र न्युजिल्याण्डमा सम्पन्न फिफा महिला विश्वकपतर्फ अष्ट्रेलियालाई ऐतिहासिक चौथो स्थान दिलाउन सामन्थाको योगदान पनि महत्वपूर्ण रह्यो ।

गत सिजन चेल्सीलाई एफए वुमन्स सुपर लिगको उपाधि जिताउन पनि सामन्थाको भूमिका महत्वपूर्ण रह्यो । सन् २०२२ को एएफसी महिला वर्ष खेलाडी बन्ने क्रममा सामन्थाले चीनकी झियाङ लिनयान र जापानकी साकी कुमागाईलाई पछि पारिन् ।

महिलातर्फको वर्ष प्रशिक्षक चीनकी शुई किनछिया बनिन् । महिलातर्फको युवा खेलाडीको पुरस्कार जापानकी माइका हामानोले हात पारिन् ।

त्यस्तै एएफसी रेफ्री स्पेशल अवार्ड अष्ट्रेलियाका क्रिस बिथ, एश्ले बिचम, एन्टोन शेटिनिन र युएईका अम्मर अल–जनेबीले संयुक्त रुपमा हात पारे ।

एएफसी मेम्बर एसोसिएशनतर्फको वर्ष प्लाटिनम अवार्ड उज्वेकिस्तानले हात पार्यो । यो अवार्डका लागि उज्वेकिस्तानले इरान र जापानलाई पछि पार्यो । एएफसी मेम्बर एसोसिएशनतर्फको वर्ष डायमण्ड अवार्ड लेबनानले हात पार्यो । लेबनानले किर्गिस्तान र भियतनामलाई पछि पार्यो ।

एएफसी मेम्बर एसोसिएशनतर्फको वर्ष गोल्ड अवार्ड हङकङले हात पार्यो । यो अवार्डका लागि हङकङले कुवेत र नेपाललाई पछि पार्यो । एएफसी मेम्बर एसोसिएशनतर्फको वर्ष रुबी अवार्ड गुआमले हात पार्यो ।

एएफसी ग्रासरुटतर्फको गोल्ड अवार्ड अष्ट्रेलियाले हात पार्दा सिल्वर अवार्ड गुआमले हात पार्यो । त्यस्तै ब्रोन्ज अवार्ड भने दक्षिण एसियाली राष्ट्र भारतले आफ्नो पोल्टामा पार्यो ।

 

Post Comments