
काठमाडौं । ब्लु बेल फुटबल क्लब र मध्यपुर जागरुक युथ क्लब यहाँ जारी छैठौं नैकाप गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नैकाप खेलमैदानमा भएको पहिलो क्वाटरफाइनलतर्फ ब्लु बेलले कुर्दन फुटबल एकेडेमीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
ब्लु बेलका लागि आशिष श्रेष्ठले एक मात्र निर्णायक गोल गरे । खेलमा ब्लु बेलका गोलरक्षक समित श्रेष्ठ म्यान अफ द म्याच चुनिए ।
त्यस्तै दोस्रो क्वाटरफाइनलमा मध्यपुरले वाणस्थली युथ सोसाईटीलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा पक्का गर्यो । मध्यपुरको जितमा यमन राजवाहक र सुमन डंगोलले गोल गरे ।
उता पराजित वाणस्थलीका लागि सुदिप सिख्राकारले पेनाल्टीबाट एक मात्र सान्त्वना गोल फर्काए । खेलमा मध्यपुरका सुमन डंगोल म्यान अफ द म्याच घोषित भए ।
चन्द्रागिरी स्पोर्टस एकेडेमी, चन्द्रागिरी–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २५ गतेका दिन हुनेछ ।