
राजाबास । संघर्षपुर्ण जितका साथ चक्रघट्टी फुटबल क्लब, सुनसरी यहाँ जारी २२औं राजाबास च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
सोमबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा चक्रघट्टीले आयोजक राजाबास युथ क्लब, राजाबासलाई सडेन डेथमा हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
त्यसअघि सरस्वती माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपश्चात् टाईब्रेकरबाट पनि नतिजा निस्किन नसकेपछि सडेन डेथमा चक्रघट्टीले ६–५ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो ।
खेलमा चक्रघट्टीका निशान श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनलाई खेलका प्रमुख अतिथी राजाबास युथ क्लबका पूर्व अध्यक्ष लाल बहादुर लिम्बुले नगद १५०० र ट्रफीसहित पुरस्कृत गरे ।
प्रतियोगिता अन्तर्गत कार्तिक २१ गते मंगलबारको पहिलो सेमिफाइनल खेल सप्तकोशी फुटबल क्लब, बराहक्षेत्र र तालतलैया फुटबल क्लब, इटहरीबीच हुने आयोजकले जानकारी दियो ।
राजाबास युथ क्लब, बराहक्षेत्र–९, राजाबास, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २४ गतेका दिन हुनेछ ।