News मानेभञ्ज्याङ गोल्डकपमा पाँच खेलहरु सम्पन्न
गोलनेपाल

मानेभञ्ज्याङ । यहाँ जारी प्रथम मानेभञ्ज्याङ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता अन्तरगत सोमबार पाँच खेलहरु सम्पन्न भएका छन् ।

मानेभञ्ज्याङ–५, ओखलढुङा स्थित स्थानीय खेलमैदानमा भएको दिनको पहिलो खेलमा सप्तरंगी युवा क्लबले केतुके युवा क्लबलाई १–० ले हरायो । दोस्रो खेलमा नयाँ नेपाल सरोकार समाजले वडा नम्बर ९ माधवपुरालाई ४–० ले निराश तुल्यायो ।

तेस्रो खेलमा ज्वालामुखी युवा क्लब, हर्कपुरले मानेभञ्ज्याङ युवा समुह (बी) लाई शून्यका विरुद्ध १ गोलले हरायो । चौथो खेलमा जेरुङ गाउँ युवा क्लबले टिजेजिसी ठुलोजुरेलाई १–० ले हरायो भने पाँचौं खेलमा उदयपुर खेलकुद समुहले प्रगतिशील युवा क्लबलाई हराउँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो ।

मानेभञ्ज्याङ युवा समूह, मानेभञ्ज्याङ–५, ओखलढुङाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही १०–१० हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

Post Comments