News योक्काईची फ्रेन्डसिपलाई दोस्रो सन्तोष मेमोरियल फुटसल कपको उपाधि
गोलनेपाल

काठमाडौं । जापानको नागोयामा सम्पन्न दोस्रो सन्तोष मेमोरियल फुटसल कप प्रतियोगिताको उपाधि आयोजक योक्काईची फ्रेन्डसिप क्लबले जितेको छ । मिएकेनको योक्काईचीमा सम्पन्न फाइनल भिडन्तमा योक्काईची फ्रेन्डसिपले सिजुओका गाईजलाई ५–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको योक्काईची फ्रेन्डसिप क्लबले उपाधिसहित नगद ५ लाख २२ हजार २ सय २२ यान हात पार्यो भने उपविजेता बनेको सिजुओका गाईजले २ लाख ३२ हजार २ सय २२ जापानी यान सहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।

योक्काईची फ्रेन्डसिपका सुभाष सुनार फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । योक्काईची कै बिकास श्रेष्ठ उत्कृष्ट गोलरक्षक बन्दा उत्कृष्ट डिफेन्डर सुब्बा श्रेष्ठ चुनिए । त्यस्तै सिजुओकाका बिशाल सुनार सर्वाधिक गोलकर्ता बन्दा नागोया नेप्लिजले फेयर प्ले पुरस्कार हात पार्यो । योक्काईचीका आशिक गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

योक्काईची फ्रेन्डसिप क्लबले जापानमा रहेका नेपालीहरुबीच भाईचारा र आत्मियता कायम गर्ने उद्देश्यका साथ आयोजना गरेको प्रतियोगितामा जापानभरको कुल २२ टोलीहरुले सहभागिता जनाएका थिए ।

स्मरण रहोस, गत वर्ष जापानको योक्काईचीमा ज्यान गुमाएका नेपाली युवा सन्तोष खड्काको स्मृतिमा गत वर्षदेखिनै क्लबले सन्तोष मेमोरियल फुटसल कपको आयोजना गर्दै आएको छ । प्रतियोगिताको पहिलो संस्करण काभ्रेली समाज जापानले जितेको थियो ।

साथै प्रतियोगिता आयोजनाबाट आम्दानी भएको रकम सामाजिक कार्यमा प्रयोग गरिने पनि आयोजकले जानकारी दियो ।

Post Comments