News स्व. सुदर्शन घिमिरे स्मृति हेटौडा च्यालेञ्ज कप यु–२१ फुटबल प्रतियोगिता हुँदै
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नाराका साथ जिल्ला कै पूर्व खेलकुद अभियन्ता स्व. सुदर्शन घिमिरेको स्मृतिमा आउँदो मंसिर ५ देखि १३ गतेसम्म स्व. सुदर्शन घिमिरे स्मृति हेटौडा च्यालेञ्ज कप यु–२१ नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

हेटौडा स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगितामा जिल्ला बाहिरका ३ तथा मकवानपुरका ११ गरी कुल १४ टोलीहरुले सहभागिता जनाउने आयोजकले जानकारी दियो । युवा लक्षित प्रतियोगिता अन्तर्गत उमेर समूहमा जिल्लाको यो अहिलेसम्म कै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता रहने पनि आयोजकले बतायो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ । जुन पुरस्कार रकम स्व. सुदर्शन घिमिरेको स्मृतिमा हेटौडा–५, पिप्ले निवासी सुस्मा घिमिरे र सम्पूर्ण घिमिरे परिवारले प्रायोजन गरेका छन् ।

स्व. घिमिरेका दुई छोरा सुशिल र सुबिन पनि खेलक्षेत्र (बक्सिङ र फुटबल) मै आवद्ध रहेकाले युवा खेलाडीहरुलाई फुटबलमा थप अभिप्रेरित गर्ने उद्देश्यका साथ प्रथम पुरस्कार प्रायोजन गरिएको घिमिरे परिवारले बतायो ।

फुटबलको उर्बर भूमिका रुपमा परिचित मकवानपुरमा उमेर समूहको फुटबल प्रतियोगिता विरलै हुने गरेको स्मरण गर्दै घिमिरे परिवारले आफूहरुको यो सानो प्रोत्साहनले क्षमतावान युवा खेलाडीहरुलाई फुटबलमा लाग्न थप हौसला मिल्ने विश्वास पनि उनीहरुको थियो ।

त्यस्तै प्रतियोगिताको मुख्य प्रायोजकमा हेटौडा सिटी कलेज, हेटौडा–५, पिप्ले रहेको छ भने सह–प्रायोजकमा दाजुभाई स्वीट्स एण्ड फास्टफुड, हेटौडा–५, पारिजातपथ रहेको खेल संयोजक सुदिप सिंह ठकुरीले बताए ।

एफसी मुण्डियाल, हेटौडाको आयोजनामा हुन गईरहेको प्रतियोगिताको उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पनि संयोजक ठकुरीले बताए । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख ५० हजार खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।

 

Post Comments