News ब्लु बेललाई नैकाप गोल्डकपको उपाधि
गोलनेपाल

काठमाडौं । सहज जितका साथ छैठौं नैकाप गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि ब्लु बेल फुटबल क्लबले जितेको छ । शनिबार नैकाप खेलमैदानमा भएको फाइनलमा ब्लु बेलले मध्यपुर जागरुक युथ क्लबलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै विजेता बनेको हो ।

विजेता बनेको ब्लु बेलले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता मध्यपुरले २ लाख ५० हजारसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो । सेमिफाइनलमा पराजित भएका महादेव युवा क्लब र हामी दाजुभाई क्लबले जनही ५०–५० हजार हात पारे ।

व्यक्तिगत विधातर्फ मध्यपुरका सुमन डंगोल सर्वोत्कृष्ट खेलाडी चुनिए भने उत्कृष्ट गोलरक्षक ब्लु बेलका समित श्रेष्ठ घोषित भए । उत्कृष्ट डिफेन्डर ब्लु बेल कै आशिष श्रेष्ठ बन्दा उत्कृष्ट प्रशिक्षक ब्लु बेलका रबिन पोखरेल घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार र ट्रफी हात पारे ।

त्यसैगरी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार कुर्दन फुटबल एकेडेमीका अविरल रिजाल र महादेव युथका निरव खड्काले संयुक्त रुपमा हात पारे । दुवैले जनही ५–५ हजार नगद प्राप्त गरे । फाइनल खेल कै अवसर पारी चन्द्रागिरी स्पोर्टस अवार्ड–२०८० बाट कराते प्रशिक्षक बीरकृष्ण शाही पुरस्कृत भए । उनले त्यसवापत नगद ५० हजार र अवार्ड हात पारे ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी लगायतका अतिथीहरुले पुरस्कृत गरे । चन्द्रागिरी स्पोर्टस एकेडेमी, चन्द्रागिरी नगरपालिका–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा असोज २७ गतेबाट शुरु भएको प्रतियोगितामा कुल २७ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments