News अष्ट्रेलियन फुटबलमा फेरि जम्ने तरखरमा जगजित
गोलनेपाल

काठमाडौं । पछिल्लो केही वर्ष यता अष्ट्रेलिया मै परिवारसँग रहँदै आएका चर्चित मिडफिल्डर जगजित श्रेष्ठले अष्ट्रेलियन फुटबलमा फेरि जम्ने जमर्को गरेका छन् । जगजितलाई एडिलेडको अर्ध व्यवसायीक क्लब एफके बियोग्राडले अनुवन्ध गरेको छ ।

सनसाईन जर्ज क्रस, नुनावाडिङ सिटी, प्रेस्टन लायन्स, पारा हिल्स नाईटस जस्ता अष्ट्रेलिया कै अन्य क्लबहरुमा पनि आफूलाई प्रमाणित गरिसकेका मिडफिल्डर जगजितले अष्ट्रेलिया फुटबलमा बियोग्राडका लागि खेल्दै फेरि उदाउने जमर्को गरेका हुन् ।

नेपालको घरेलु फुटबलमा हिमालयन शेर्पा, फ्रेण्डस, थ्रीस्टार, मनाङ, आर्मी जस्ता सफलतम क्लबहरुबाट खेलेर विभिन्न उपाधि समेत जितेका जगजित आक्रमक मिडफिल्डरका रुपमा पनि परिचित छन् ।

जगजितले बियोग्राडसँगको अनुवन्धलाई आफ्नो फुटबल करियरको अर्को अवसर र चुनौतिका रुपमा हेरेका छन् । साथै नयाँ क्लबमा नयाँ सिजनका लागि उत्साहित पनि छन् । बियोग्राडले नेशनल प्रिमियर लिग साउथ अष्ट्रेलियामा प्रतिस्पर्धा गरिरहेको छ ।

साथै क्लबले गत सिजन लिगतालिकाको आठौं स्थानमा रहेर सिजनको समापन गरेको थियो ।

 

Post Comments