
हेटौडा । ’राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नाराका साथ मंगलबारदेखि शुरु स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगितामा नव जनजागृति युवा क्लब, सिमराले विजयी शुरुवात गरेको छ ।
पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा नव जनजागृतिले नागस्वती युथ क्लबलाई टाईब्रेकरमा ५–४ ले हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ नव जनजागृतिका लागि राकेश भण्डारी र सेरब लो तामाङले गोल गरे भने नागस्वतीका लागि दुवै गोल कुशल अधिकारीले गरे । खेलमा नागस्वतीका अधिकारी नै प्लेयर अफ द म्याच घोषित भए ।
यो जितसँगै नव जनजागृति क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी हेटौडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गरेका थिए ।
एफसी मुण्डियाल, हेटौडाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही मंसिर १३ गतेका दिन हुनेछ ।