News नेपालको समूहमा युएईको लगातार दोस्रो जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता अन्तरगत नेपालकै समूह एच मा रहेको युएईले लगातार दोस्रो जित हात पारेको छ ।

गत साता मात्रै दुबईमा नेपाललाई ४–० ले हराएको युएईले मंगलबार राती आफ्नो दोस्रो खेलमा बहराईनलाई उसकै घरमा २–० ले पराजित गर्यो । यो नतिजापछि २ खेलबाट ६ अंक जोडेको युएई शिर्ष स्थानमा छ ।

समान ३–३ अंक जोडेका बहराईन र यमन क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा अंकविहीन नेपाल भने पुछारमा छ ।

मंगलबार एसियन क्षेत्रमा भएका अन्य खेलहरुको नतिजाहरु

त्यस्तै एसियन क्षेत्रतर्फको अन्य समूहका नतिजाहरुमा समूह ए तर्फ कुवेतले अफगानिस्तानमाथि ४–० को जित निकाल्यो । सोही समुहमा कतारले भारतलाई ३–० ले हरायो । समूह बी मा उत्तर कोरियाले म्यानमारलाई ६–१ ले हराउँदै पहिलो जित दर्ता गर्दा जापानले लगातार दोस्रो जित हात पार्ने क्रममा सिरियालाई ५–० ले निरीह बनायो ।

समूह सी मा पहिलो जित हात पार्ने क्रममा थाइल्याण्डले सिंगापुरलाई ३–१ ले पराजित गर्दा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा दक्षिण कोरियाले चीनमाथि ३–० को जित निकाल्यो । समूह डी मा मलेसियाले दोस्रो जित हात पार्ने क्रममा चाईनिज ताइपेईलाई १–० ले हराउँदा किर्गिस्तानले पनि ओमानमाथि समान १–० को सनसनीपूर्ण जित हात पार्यो ।

समूह ई मा हङकङ र तुर्कमेनिस्तान तथा उज्वेकिस्तान र इरानले समान २–२ को बराबरी खेल्दै अंक बाँडे । समूह एफमा फिलिपिन्सले इण्डोनेसियासँग १–१ को बराबरी खेल्दै अंक बाँड्दा इराकले भियतनामलाई १–० ले हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो ।

समूह जी मा साउदी अरेबियाले जोर्डनमाथि २–० को जित हात पार्यो भने ताजिकिस्तानले पाकिस्तानलाई ६–१ ले हरायो । समूह आई तर्फ लगातार दोस्रो जित हात पार्ने क्रममा अष्ट्रेलियाले प्यालेस्टाईनलाई १–० ले हरायो भने बंगलादेश र लेबनानले १–१ गोलको बराबरी खेले ।

Post Comments