News रियल स्टार र शहिद स्मृति क्वाटरफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ जारी स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कपमा रियल स्टार क्लब र शहिद स्मृति क्लब आ–आफ्नो खेलमा जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको प्रिक्वाटरफाइनलतर्फ रियल स्टारले कमाने फुटबल एकेडेमीलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा रियल स्टारका गोलरक्षक आयुष गोले म्यान अफ द म्याच घोषित भए ।

बिहीबार नै पिप्ले क्याम्पा रंगशाला मै भएको दोस्रो खेलमा शहिद स्मृतिले आयोजक एफसी मुण्डियाललाई शून्यका विरुद्ध ४ गोलले हरायो । शहिद स्मृतिका लागि चारै गोल आयुष नेगीले गरे । खेलमा नेगी नै म्यान अफ द म्याच चुनिए ।

एफसी मुण्डियाल, हेटौडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल मंसिर १३ गतेका दिन हुनेछ ।

Post Comments