News नेपाल सुपर लिगको महाभिडन्त आजदेखि
गोलनेपाल

काठमाडौं । बहुप्रतिक्षित फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि भव्यताका साथ शुरु हुँदैछ । आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. ले पनि प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराईसकेको छ ।

दशरथ रंगशालामा बेलुका ७ बजेदेखि शुरु हुने लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र नव आगन्तुक टोली स्पोर्टङ इलाम भिड्दै छन् । काठमाडौंको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन छन् भने मार्की खेलाडीमा हिसुब थपलिया छन् ।

उता इलामको मुख्य प्रशिक्षकमा अर्का अनुभवी प्रशिक्षक मेघराज केसी छन् भने मार्की खेलाडीमा गोलरक्षक बिकेश कुथु छन् । कुथुले पहिलो संस्करण काठमाडौंका लागि खेल्दै सुपर लिगको उपाधि पनि जितेका थिए ।

दर्शकहरुलाई निःशुल्क बस सेवा

अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा हुन गईरहेको एनएसएलको दोस्रो संस्करणमा एन्फाले दर्शकहरुलाई खेलपश्चात् गन्तव्यमा पुग्न निःशुल्क बस सेवा पनि सञ्चालन गर्दैछ । यद्यपि निःशुल्क बस सेवाका लागि दर्शकले खरिद गरेको टिकटको अर्धकट्टी अनिवार्य देखाउनु पर्नेछ ।

आयोजकले लिगको टिकट मुल्य पनि घोषणा गरिसकेको छ । जस अनुसार सामान्यतर्फ २०० र विशिष्टतर्फ ५०० टिकट मुल्य तोकिएको छ । साथै दर्शकहरुले दशरथ रंगशाला मै आएर वा आइएमई पे मार्फत अनलाईन टिकट खरिद गर्न सकिने पनि आयोजकले जनाएको छ ।

पुरस्कार रकममा पनि वृद्धि

त्यसैगरी आयोजकले यसपटक लिगको पुरस्कार रकममा पनि वृद्धि गरेको कुरा जानकारी दिएको छ । लिगका निर्देशकश्रेयान्स कार्कीले दोस्रो संस्करणको लिग विजेताले उपाधिसहित कम्तीमा ७० लाखदेखि बढीमा १ करोडसम्म पाउने बताएका छन् ।

अन्य पुरस्कार राशीबारे भने खुलाइएको छैन । आयोजकका अनुसार दर्शक र सबैको साथ मिले पुरस्कार राशी अझ आकर्षक बनाईने बताइएको छ । स्मरण रहोस, काठमाडौं रेजर्सले सुपर लिगको पहिलो संस्करण जित्दा उपाधिसहित ३५ लाख हात पारेको थियो ।

यसपटक सुपर लिगलाई व्यवसायिक रुपमा पनि थप आकर्षक बनाउन मैदानको छेउमा एलईडी पेरिमिटर पनि जडान गरिएको छ । त्यस्तै आयोजकले यसपटक लिगमा नेपाल बाहिरका लागि रेफ्री पनि ल्याउने बताईसकेको छ ।

आगामी पौष १४ गतेसम्म चल्ने लिगमा कुल ४० खेलहरु हुनेछन् । साथै लिगमा सहभागि कुल ९ वटै टोलीहरुले प्रतिस्पर्धाका लागि आफूहरु तयार रहेको समेत बताईसकेका छन् ।

 

Post Comments